बोस्टन।

अमेरिकामा रंगभेदविरुद्ध भइरहेको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ। अमेरिकामा रंगभेदी इतिहासलको निशान मेटाउने नारा लाग्न थालेका छन्।
प्रदर्शनकारीले उपनिवेशवाद र अश्वेतलाई गुलाम बनाउन बाध्य बनाउने कामको समर्थन गर्ने व्यक्तिहरुको मूर्ति हटाउने आवाज चर्को हुँदै गएको छ।
यसैबीच बुधवार बोस्टन शहरमा प्रदर्शनकारी ‘अमेरिका पत्ता लगाउने’ क्रिस्टोफर कोलम्बसको एक मूर्तिको शिर तोडिदिएका छन्। अमेरिकामा कोलम्बसलाई उपनिवेशवाद सुरुवात गर्ने व्यक्ति मानिन्छ।
स्थानीय रिपोर्ट अनुसार बोस्टनका अलावा डाउनटाउन मायामीमा पनि कोलम्बसको एक मूर्ति तोडफोड गरिएको छ। भर्जिनियाको रिचमन्डमा पनि यसै साता कोलम्बसको मूर्तिलाई एउटा तालमा फालिएको थियो।
अघिल्लो महिना मिनेसोटाको मिनियापोलिस शहरमा अफ्रिकी-अमेरिकी जर्ज फ्लोयडको एक श्वेत पुलिस अधिकारीको हातबाट ज्यान गएपछि त्यहाँ रंगभेद र पुलिस बर्बरताविरूद्ध प्रदर्शन चर्किएको छ।
अमेरिकामा लगभग सबै राज्यमा प्रदर्शन भइरहेको छ। यी प्रदर्शनबीच अमेरिकामा यस्ता मूर्ति र स्मारकलाई हटाउनुपर्ने आवाज सशक्त हुँदै गएको छ। अमेरिकाको रंगभेदी इतिहाससँग जोडिएका सबैको मूर्ति हटाउनुपर्ने आवाज बढेको हो। बोस्टनमा कोलम्बसको यो मूर्ति कयौँ वर्षदेखि विवादको विषय बन्ने गरेको छ।
















