पाकिस्तानका पूर्वप्रधानमन्त्री गिलानीलाई कोरोना संक्रमण

इस्लामाबाद।

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । युसुफका छोरा कसिम गिलानीले आफ्ना बाबु भाइरस संक्रमण देखिएको शनिबार जनाएका हुन् ।

कसिमले ट्वीट गर्दै आफ्ना बाबु संक्रमित हुनुमा प्रधानमन्त्री इमरान खान जिम्मेवार रहेको आरोपसमेत लगाएका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । ‘धन्यवाद इमरान खान र नेसनल एकाउन्टेबिलिटी ब्युरो । तिमीहरुले मेरो बुबाको जीवन सफलतापूर्वक खतरामा राख्यौं,’ कसिमले ट्वीटरमा लेखेका छन् । युसुफ बिहीबार रावलपिण्डीस्थित ब्युरोको कार्यालयमा उपस्थित भएका थिए ।

पाकिस्तान मुस्लिम लिग (नवाज) का सर्वोच्च नेता तथा पूर्वप्रधानमन्त्री नवाज सरिफ र पाकिस्तान पिपुल्स पार्टीका सह–अध्यक्ष आसिफ अली जर्दारीले महँगा गाडीहरु उपहार लिँदा सहयोग पुर्‍याएको आरोपपछि बयानका लागि उनी ब्युरोको कार्यालय पुगेका थिए ।

गतसाता पाकिस्तानका केही सांसदहरुलाई भाइरसको संक्रमण देखिएको थियो । यसअघि पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष तथा राष्ट्रिय सभामा विपक्षी दलका नेता सेहबाज सरिफलाई भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा छन् ।

त्यस्तै, पूर्वप्रधानमन्त्री साहिद खकान अब्बासी र रेलमन्त्री शेख रसिदमा पनि गत सोमबार कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । शनिबार साँझसम्म पाकिस्तानमा भाइरस संक्रमितको संख्या १ लाख ३२ हजार ४ सय ५ पुगेको छ । अधिकारीका अनुसार हालसम्म २ हजार ५ सय ५१ जनाको भाइरसका कारण मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार