काठमाडाैं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गर्नुभएकाे छ । फक्स न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताउनुभएकाे हाे ।
ट्रम्पले व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा आफू नरहेको समेत बताए । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग बाध्यकारी बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो भनाइ आएको हो । मास्कको विपक्षमा रहेका ट्रम्पले गत हप्ता एउटा सार्वजनिक कार्यक्रममा भने मास्क लगाएका थिए ।
मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको छ । जर्जिया राज्यका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजार भन्दा बढी पुगेको छ । एक लाख ४२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
















