नयाँ दिल्ली।
मुम्बई पुलिसले रिपब्लिक टीभीका प्रधान सम्पादक रहेका चर्चित भारतीय पत्रकार अर्नब गोस्वामीलाई बुधबार पक्राउ गरेको छ। उनलाई २०१८ मा आमा छोरालाई नै आत्महत्या गर्न उक्साएको आरोप लागेको छ।

पत्रकार गोस्वामीलाई पक्राउ गर्न उनको घरमा बिहान ६ः३० बजे नै प्रहरी पुगेको थियो। उनलाई अलिबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा जाँच चलिरहेको छ। महाराष्ट्र सरकारले यसै वर्ष घटनाको जाँच गर्न आदेश दिएको थियो।
अर्नब र अन्य दुई जनाले इन्टेरियर डिजाइनर नाइकको बाँकी पैसा नदिएपछि उनी र उनकी आमाले आत्महत्या गर्नुपरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ। राज्यका गृहमन्त्री अनिल देशमुखका अनुसार डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा अर्नब र उनका साथीले नदिएको बारे जाँच नभएको दाबी गर्दै आएकी छिन्।
उता अन्वय पत्नी अक्षताले पनि रायगढ पुलिसले यो मुद्दामा एफआईआर दर्ता गरे पनि ठीकसँग अनुसन्धान नगरेको बताएकी छिन्। तर, रायगढ पुलिसका एसपी अनिल पारसकरले यो मुद्दामा अर्नबको विरुद्ध कुनै प्रमाण नभेटिएको बताएका थिए।
अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने ५.४० करोड भारू नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए। उनले रिपब्लिक टीभीको स्टुडियोमा इन्टेरियर डिजाइन गरेका थिए। त्यही रकम अर्नबले नदिएका हुन्।
उता अर्नबले आफूमाथि प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्। रिपब्लिकन टीभीले उनको घरको प्रत्यक्ष दृश्य देखाएको थियो, जसमा अर्नब र प्रहरीबीच झडप भएको देखिन्छ। प्रहरीले अर्नबको घरमा पनि खानतलासी गरेको छ।
















