न्युयोर्क ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकजना निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका छन् । ट्रम्पले चुनावमा धाँधली भएको भन्दै लगाइदै आएको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् ।
ट्रम्पले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीलाई बर्खास्त गरेका हुन् ।
ट्रम्पले ट्वीट गरेर साइबर सेक्युरिटी एण्ड इन्फ्राइस्टक्चर सेक्युरिटी एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेको जानकारी दिएका हुन् ।
क्रिसले हालै वक्तव्य जारी गरेर नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि प्रकारको धाँधली भएको प्रमाण नरहेको बताएका थिए ।
उनले वक्तव्यमा भनेका थिए, ‘कुनै पनि मतदान प्रमाणालीले मत डिलिट गरेको वा गुमाएको, मत परिवर्तन गरेको वा अरु कुनै पनि प्रकारको कमजोरी वा धाँधली गरेको प्रमाण छैन ।’
सोही वक्तव्यलाई लिएर ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । क्रिसले जारी गरेको सो वक्तव्य सरासर झुट रहेको आरोप ट्रम्पले लगाएका छन् । तर उनले अहिलेसम्म धाँधलीको कुनै पनि प्रमाण भने प्रस्तुत गर्न सकेका छैनन् ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तर्गतको साइबर सुरक्षा विभाग हेर्ने गरेका क्रिसलाई ट्रम्पले बर्खास्त गर्ने तयारी गरेको खबर सिएनएनसहितका अमेरिकी सञ्चारमाध्यमले यसअघि नै प्रकाशित गरेका थिए ।
नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका छन् । तर उनले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । ट्रम्पले धाँधली गरि आफूबाट नतिजा खोसिएको आरोप बिना कुनै प्रमाण लगाउँदै आएका छन् ।
















