“मलाई जेल पठाउनु मृत्युदण्ड दिएजस्तै हो” – दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकोब

केपटाउन: अदालतको अवहेलनामा दोषी ठहर भएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाले आफू जेल नजाने चेतावनी दिएका छन् ।

अदालतको अवहेलना मुद्दामा जुमालाई दोषी ठहर गर्दै अदालतले १५ महिनाको जेल सजाय सुनाएको थियो । तर जुमाले आफ्ना कागजात अदालतले हेर्न नचाहेको तर आफूलाई जेल पठाउन मात्रै चाहेको आरोप लगाएका छन् ।

“मलाई जेल जान आवश्यक छैन,” जुमाले क्वा जुलु नताल प्रान्तस्थित पत्रकारहरु समक्ष भनेका छन् । जहाँ उनको निवास बाहिर उनका सयौँ समर्थकहरु आएर उनको पक्षमा नारावाजी गरिरहेका छन् ।

“उनीहरुले मेरा कागजात ग्रहण गर्न सक्दैनन र जेल जान अपेक्षा गर्छन्,” उनले भने । यस्तै ७९ वर्षीय नेता जुमाले आफूलाई यस्तो बेलामा जेल पठाउनु भनेको मृत्युदण्ड दिएसरह भएको पनि ठोकुवा गरे ।

“महामारीको यस्तो उचाइको अवधिमा, यो उमेरमा, मलाई जेल पठाउनु भनेको मृत्युदण्डको सजाय दिए जस्तै हो,” उनले भने । जुमाका समर्थकहरुले भने उनको संवैधानिक अधिकार दुरुपयोग गरिएको आरोप लगाएका छन् ।

जुमाले अदालतको बारम्बारको आदेश अटेरी गर्दै अदालतको अवहेलना गरेपछि गत मंगलबार उनीमाथि १५ महिनाको जेल सजाय तोकिएको थियो । पदमा रहँदा उनले अनियमितता गरेको तथा ठूलो रकम दुरुपयोग गरेको भन्दै उनीमाथि दर्जनौँ भ्रष्टाचारका मुद्दा छन् । तर ती मुद्दामा सुनुवाइको क्रममा वयानका लागि अदालतले पटक पटक आग्रह गर्दा पनि उनी अदालतमा उपस्थित भएका थिएनन् ।

अदालतले उनलाई आत्मसमर्पणका लागि आइतबारसम्मको अन्तिम समय सीमा दिएको थियो । जुन अब सकिँदैछ ।

“मैले यहाँ प्रहरीहरुलाई देखेको छु । म सोच्दैछु उनीहरुले मलाई कसरी समाउलान्, उनीहरु यति धेरै जनताको बीचमा उनीहरु कसरी आउँछन्?’, जुमाले भने । दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमामाथि विभिन्न १६ वटा ठगी तथा भ्रष्टाचारका मुद्दा छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार