प्योङयाङ (एजेन्सी) |
उत्तर कोरियाले त्यहाँका सर्बोच्च नेता किम जोङ उनको स्वास्थ्यबारे बहस गर्न आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको छ । नेता किमको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला कोरियाली सरकारले यस्तो प्रतिबन्ध लगाएको हो । यसै वर्षको सुरुमा किम दुब्लो देखिएको तस्बिर सार्वजनिक भएपछि उनको स्वास्थ्यबारे विभिन्न टिप्पणी हुन थालेको थियो । उनी बिरामी परेको हुनसक्ने धेरैले अनुमान गरेका थिए ।
देश जनता भोकमरीमा परेको र सोही चिन्ताले किमले थोरै खाँदा उनी दुब्लाएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् । ‘आकस्मिक रुपमा घटेको तौल स्वास्थ्यमा आएको समस्याका कारण होइन, बरु देश र जनताको लागि सोचमग्न हुँदाको परिणाम हो,’ उत्तर कोरियाली अधिकारीको भनाई उदृत गर्दै त्यहाँका सञ्चार मध्यमले जनाएका छन् ।
तर, किमको स्वास्थ्यबारे भइरहेका गसिपको सरकारले दबाउन खोजेको रेडियो फ्रि एसियाले जनाएको छ ।
किममा आएको पछिल्लो शारीरिक परिवर्तनले त्यहाँका केही कोरियाली खुसी भएको समाचार विवरणमा जनाइएको छ । किमलाई अब हिँड्डुल गर्न सजिलो हुने उनका शुभचिन्तकहरुले आशा गरेका छन् । पाँच फिट आठ इन्च उचाई भएका किमको तौल ३ सय ८ पाउन्डसम्म पुगेको थियो । तर, अहिले उनको ४४ पाउन्ड तौल घटेको छ । रोगका कारण उनको तौल घटेको हुन सक्ने केहीले अनुमान गरेका छन् ।
केही साताअघि सार्वजनिक भएको एउटा तस्बिरमा उनको गर्दनमा घाउको खत देखिएको थियो । त्यस्तै, उनको नाडीमा पनि सुई लगाएको दाग लागेको तस्बिर सार्वजनिक भएको थियो । उनको मुटुको शल्यक्रिया भएको हुन सक्ने स्वास्थ्य विज्ञहरुले अनुमान गरेका थिए ।

















